राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९
काठमाडौँ। आज भर्खरै मात्र सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनको मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सुरु भएको बताइएको छ ।
केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए । राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् ।
त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन पनि मतदानमा अनुपस्थित रहे। उपराष्ट्रपतिमा, एमालेबाट अष्टलक्ष्मी शाक्य ,जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् ।