राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज ०९ काठमाडौँ I लगातार भइरहेको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अविरल वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको हो ।
प्रशासनका अनुसार सडकखण्डमा पहिरो हटाउने काम भइरहेको छ। तर वर्षा निरन्तर भइरहेकाले एक ठाउँमा पहिरो हटाएलगत्तै अर्को स्थानमा पहिरो खस्ने जोखिम रहेको छ ।
सडकमा पहिरो हटाउने तथा सडकलाई सुरक्षित बनाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ ।
सडक बन्द भएपछि यस मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई तत्काल यात्रा नगर्न तथा आफ्नो यात्रा सोहीअनुसार व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ । वर्षा नरोकिएसम्म सडकखण्डका अन्य स्थानमा समेत पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
सडक खुलाउने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र अवस्था हेरेर पुनः सूचना जारी गरिने प्रशासनले जनाएको छ ।