राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२८ बैशाख २०८२, रुपन्देही । रुपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मिटरब्याज पीडितहरुले भेट गरेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।
भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले बताए ।
जवाफमा रवि लामिछानेले पीडितहरूलाई धैर्य गर्न आग्रह गर्दै न्याय मिल्ने आश्वासन दिएका छन् । उनले आफ्नै उदाहरण दिँदै धनी र गरिबबीचको लडाइँ लामो चल्ने बताए । देशका लागि लड्नेहरू नै थुनिनुपरेको उनको भनाइ थियो ।