राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
१९ असार २०८२, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा उनी बिहीबार आफैँ अदालतमा उपस्थित भएका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।
'साइबर ब्युरो ५९' का नाममा परेको उजुरीअनुसार पाठकले विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुर गरेका आरोप लगाइएको छ। मुद्दामा एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको थियो ।
उजुरीदाताले आफ्नै फोटो प्रयोग गरी "हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा" भन्ने शीर्षकसहित सामग्री सार्वजनिक गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । उजुरीमा आफूविरुद्ध घृणा र द्वेष फैलाएर चरित्र हत्या गरिएको आरोप लगाइएको छ ।