राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२
२०८२ साउन १८, भोजपुर । टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार क्षेत्रमा पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।
बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको बताइएको छ । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।
वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।’ ‘पाँचधारे बजार पहिराको जोखिममा परेको छ’ । बजार क्षेत्रका आठवटा घर हाल पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।
यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको जानकारी दिए ।