आईतवार, २९ भाद्र, २०८२

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ असार, २०८२

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

१२ असार २०८२, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए ।

भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ। जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए। उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् ।

काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुंगा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ। मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए ।

advertisement_1680627706.gif