बिहीबार, १३ कार्तिक, २०८३

आफ्नो नाम जोडिएको भ्रामक समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

आफ्नो नाम जोडिएको भ्रामक समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

२०८३ कार्तिक १२ काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । उनले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको नाम जोडेर अमेरिकामा ‘घुस’ र सापकोटाको मोबाइलबाट प्रमाण खुलेको दाबीसहित प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

बिहीबार जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश शर्माले आफूलाई जोडेर आएका समाचारहरू आधारहीन रहेको दाबी गरेका छन् । सापकोटासँग आफ्नो कुनै सम्बन्ध, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पार्दै उनले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफूले चिनजानसमेत नरहेको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा शर्माले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष कुनै किसिमको सम्पर्क नभएको उल्लेख गरेका छन् । आफूले उनीहरूसँग कहिल्यै भेटघाटसमेत नगरेको उनको दाबी छ ।

उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत नरहेको जिकिर गरेका छन् । यस आधारमा आफ्नो नाम जोडेर सार्वजनिक गरिएका विवरण तथ्यहीन भएको उनको भनाइ छ ।

प्रधानन्यायाधीश शर्माले आधारहीन, झुटा तथा कपोलकल्पित समाचारमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै त्यस्ता समाचारको भर्त्सना गरेका छन् । साथै, अपुष्ट विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

पछिल्लो समय इनम सापकोटासँग विभिन्न उच्च पदस्थ व्यक्ति तथा अधिकारीहरूको सम्बन्ध रहेको दाबीसहितका समाचार सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा प्रधानन्यायाधीश शर्माले आफ्नो नाम जोडिएका विवरणको खण्डन गर्दै विज्ञप्ति जारी गरेका हुन् ।

advertisement_1676551694.gif