राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ कार्तिक १२ काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
टर्किएमा यसै महिना आयोजना हुने कोप–३१ को पूर्वतयारीका सन्दर्भमा आज आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा मन्त्री खनालले नेपालले पर्वतीय एजेन्डा, जलवायुजन्य क्षति तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने बताएका हुन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित सम्मेलनमा उहाँले कोप–३१ मार्फत अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई परिणाममुखी बनाउन नेपालले पहल गर्ने बताउनुभयो। साथै, हिमाली क्षेत्रका विशिष्ट समस्या र जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकताका साथ समेट्नुपर्ने उनको भनाइ थियो।
मन्त्री खनालले पेरिस सम्झौताले निर्धारण गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हिमाली मुलुकका लागि विशेष महत्वपूर्ण रहेको स्पष्ट पारे ।