राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ जेष्ठ २१, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको रक्षा गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणमा लाग्न सबैलाई थप प्रतिबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । वि.सं. २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात् गर्दै विविधताभित्रको एकतालाई सुदृढ बनाउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
संविधानले वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक र लैंगिकक लगायतका सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको उनले स्मरण गराएका छन् ।
जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहारको पूर्ण अन्त्य केवल कानुनी व्यवस्थाले मात्र सम्भव नहुने राष्ट्रपति पौडेलको भनाइ छ। यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र आपसी सम्मानको भावना विकास हुन अपरिहार्य रहेको उनले बताए। यो दिवसले समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको सन्देशमा उल्लेख छ ।
जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको गम्भीर अपराधका रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले सामाजिक जागरण र समभावको विकासका लागि सबै समुदायबीच आपसी सद्भाव र मेलमिलाप बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले जातीय छुवाछूत र विभेदको विरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूलाई अझ बढी संवेदनशील हुन आह्वान समेत गरेका छन् ।