आईतवार, १८ आश्विन, २०८३

लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल

२०८३ असोज १८ काठमाडौँ I नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए । भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए ।

पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए । निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले संवाद गर्न नसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ ।’

पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने अवस्था रहेकाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । नेपालका छिमेकी मुलुकलाई समेत आश्वस्त पार्नेगरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेपनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए। रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य रहेको भन्दै नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे ।

advertisement_1676551694.gif