आईतवार, १ मंसिर, २०८२

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

२०८२ कार्तिक ३०, काठमाडौँ । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्ताव अनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ ।

उनले भने, ‘विभिन्न कार्ययोजनासहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ र यो अनुसार क्रमश कार्यान्वयनमा जान्छ। एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ ले नेपाली सेना परिचालन गर्ने विषयमा प्रस्ताव गरेको छ। सो अनुसार नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष सिफारिस गर्ने प्रयोजनको लागि रक्षा मन्त्रालयमा लेखी पठाउने भन्ने छ ।’

उनले मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने समेत बताए ।

‘निर्वाचनलाई लक्षित गरि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने भनेका छौ । पहिलो सुरुवात चै लुम्बिनी प्रदेशमा मंसिर ९ गते निर्वाचनलाई लक्षित गरेर सुरक्षा गोष्ठी गने जसमा जिल्लागत र प्रदेशगत भएका सुरक्षाका चुनौतिहरु उहाँहरुको निर्वाचनको तयारीको अवस्थामा व्यापक छलफल गर्छौं,’ उनले भने ।

बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथी सहभागी थिए ।

advertisement_1676553908.gif