राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ जेष्ठ, २०८२
२२ जेठ २०८२, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसके पछि बिहीबार एक बजेका लागि बैठक बाेलाइएकाे हाे ।
बुधबार संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसाे ३ः१५ को समय सरेको जानकारी दिएको थियाे। तर, त्यसमा पनि सहमति नभएपछि बिहीबार दिउँसाे एक बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् ।
सहमति जुटाउनका लागि हिजाे सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेकाे छैन ।
दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो । तर विपक्षी दल विशेषगरी नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेन । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो। यसअघि जेठ १३ र १४ गतेका लागि बोलाइएका बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए ।
बुधबारको छलफलमा विपक्षीहरूले गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने माग गरेका थिए। तर सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि बैठक स्थगित भएको थियो ।