बुधबार, ७ आश्विन, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची

२०८३ असोज ०७ काठमाडौँ I संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन् । सम्भावित कार्यसूचीअनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन् ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

यसैबीच, आजै संघीय संसद्अन्तर्गतका विभिन्न पाँच वटा विषयगत संसदीय समितिका बैठकहरू पनि बस्दैछन् ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

यी बैठकहरूमा समितिमा विचाराधीन रहेका विधेयकहरू र समसामयिक विषयहरूमा छलफल हुनेछ ।

advertisement_1676551537.gif
अन्य समाचार