राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज ०७ काठमाडौँ I परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे ।
भेटका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपाल–माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
उनीहरूले उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा पर्यटन, रोजगारी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरे ।
त्यसैगरी, उनीहरूबीच जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकासलगायत आपसी हित र चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्यलाई थप बनाउने विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा पनि साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।
भेटवार्तामा राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापासहित भ्रमण दलका सदस्य सहभागी थिए ।