राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ असार ०७, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् ।
चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताका हुन् ।
उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गरे । पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उनको भनाइ थियो ।
“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन”, उनले भने, “गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ । हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ ।
रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताए ।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताए । “हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ ।राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ”, उहाँले भन्नुभयो, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।”
सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताए । “सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उनलाई नै छ ।
झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो”, लामिछानेले भने।