राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असार ०७, चितवन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपालको वैकल्पिक राजनीतिको अगुवा शक्तिका रूपमा चित्रण गर्दै सुशासन र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनको भरतपुरमा सम्बोधन गर्दै भट्टराईले छोटो अवधिमै जनताको विश्वास जितेर रास्वपाले उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेको बताए ।
‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो । यस सफलताका लागि म बधाई दिन्छु,’ उनले भने, ‘सुशासन र समृद्धिको प्रतिफल प्रत्येक नेपालीले अनुभूति गर्न पाओस् भन्ने मेरो शुभकामना छ ।’ भट्टराईले आफूले लामो समयदेखि वैकल्पिक राजनीतिको आवश्यकता औँल्याउँदै आएको स्मरण गर्दै रास्वपाको उदयलाई त्यस अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।
‘मैले करिब एक दशकदेखि वैकल्पिक राजनीतिको पक्षमा पैरवी गर्दै आएको छु । त्यस दृष्टिले हेर्दा, त्यो अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा नै हो भन्ने लाग्छ,’ उनले भने । रास्वपाप्रति आफ्नो सकारात्मक धारणा व्यक्त गर्दा विभिन्न टिप्पणीहरू आउने गरेको उल्लेख गर्दै भट्टराईले आफू कुनै व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाले प्रेरित नभएको स्पष्ट पारे ।
‘मैले यस्तो भन्दा कतिपयले ‘ललीपप देखाइएको छ’ भन्छन् । म जीवनको उत्तरार्धमा पुगेको मान्छे हुँ । टाउकोको मूल्य तोकिएको समय पनि भोगेँ, प्रधानमन्त्री पनि भइसकेँ। अब यो उमेरमा केको ललीपप खाने?,’ उनले भने ।
पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै कम्तीमा आगामी एक दशकसम्म स्थिर राजनीतिक वातावरण कायम हुनुपर्ने धारणा राखे । उनले नयाँ राजनीतिक शक्तिहरूले जनतामा देखिएको आशा जोगाउन जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । रास्वपाभित्र देखिने नेतृत्वसम्बन्धी चर्चा र अड्कलबाजीप्रति संकेत गर्दै उनले पार्टीको भविष्य नेतृत्वबीचको एकता र सहकार्यमा निर्भर रहने बताए ।
‘रवि ठूलो कि बालेन ठूलो भन्ने बहस हुन सक्छ तर तपाईंहरूको एकतामै रास्वपाको भविष्य सुरक्षित छ,’ उनले भने, ‘पार्टीभित्रको सहकार्य र एकताले नै आगामी पाँच वर्षको यात्रा निर्धारण गर्नेछ ।’
भट्टराईले रास्वपाले जनताले दिएको विश्वासलाई संस्थागत गर्दै सुशासन, विकास र समृद्धिको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्न सके नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव छोड्न सक्ने विश्वास समेत व्यक्त गरे ।