राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक परिस्थितिका विषयमा गहन छलफल गर्न भोलि अर्थात् २०८३ जेठ २५ गते सर्वदलीय बैठक आह्वान गरेको छ । रास्वपाका सभापति रवि लामिछानेको विशेष पहलमा देशको पछिल्लो राजनीतिक अवस्था र संसदमा दलहरूबीचको सहकार्यका विषयमा संवाद गर्न यो बैठक बोलाइएको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठक भोलि बिहान ९:०० बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ । यस महत्त्वपूर्ण बैठकमा संघीय संसदका दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिएको छ ।
बैठकको प्रभावकारिता र निर्णय प्रक्रियालाई सहज बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित अनिवार्य रूपमा दुई जना शीर्ष नेताहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । महामन्त्री बुर्लाकोटीले संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सबै राजनीतिक दलहरूमा बैठकको आधिकारिक सूचनासहितको निमन्त्रणा पत्र पठाइसकिएको जानकारी दिएका छन् ।
पछिल्लो समय राजनीतिक समीकरणमा देखिएका उतारचढाव र जनसरोकारका मुद्दाहरूका बीच रास्वपाले चालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।
दलहरूबीच साझा धारणा निर्माण गर्न र संसद्लाई थप प्रभावकारी बनाउन यो सर्वदलीय छलफलले ठोस मार्गचित्र तय गर्ने अपेक्षा राखिएको छ ।