राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ कार्तिक २९ काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठले सामाजिक ऐक्यबद्धता बलियो बनाउने बताएका हुन् ।
छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै थापाले ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको स्मरण गरे । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा समेत स्पष्ट रूपमा प्रतिबिम्बित हुने उनको भनाइ छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने सभापति थापाले उल्लेख गरेका छन् ।
उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना गरेका छन् । साथै, छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।