राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८२ भदौ २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी गराएका हुन् ।
लामिछानेले भने ‘’संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु। पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु ।
ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथि नै छोड्न चाहन्छु । यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन ।‘’ उनले उल्लेख गरे।
सामाजिक संजाल फेसबुकमार्फत लामिछानेले अगाडी भने ‘’मलाई केही दिनअघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक दुई थोपो बीष पिएर म मर्दिन । मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो। कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर, एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु। तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला उनले भने। ‘’