शनिबार, ३० जेष्ठ, २०८३

सर्वोच्च अदालतद्वारा वायुसेवा निगम सञ्चालकको नियुक्ति बदर

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सर्वोच्च अदालतद्वारा वायुसेवा निगम सञ्चालकको नियुक्ति बदर

२०८३ जेष्ठ ३०, काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ ।

योग्यताक्रमलाई बेवास्ता गर्दै छनोट गरिएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त निर्णय प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर गरेको हो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले योग्यताक्रमअनुसार निर्णय नगरी ‘छनोट’ गरिएको देखिएकाले नियुक्ति कानुनसम्मत नभएको निष्कर्ष निकालेको छ ।

सरकारले २०८३ वैशाख ३१ मा पाँच सदस्य नियुक्त गरेको थियो। तर सिफारिस समितिको मूल्यांकनमा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नछानी अन्यलाई नियुक्त गरिएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

अदालतले योग्यताक्रमअनुसार पारदर्शी आधार र कारणसहित पुनः निर्णय गर्न सरकारलाई परमादेश समेत जारी गरेको छ ।

advertisement_1676551646.gif