राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८२ चैत्र २२, काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आगामी सोमबार हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति तोक्नुभएको हो।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदको निर्वाचनका लागि चैत्र ३० गते सोमबारको समय निर्धारण गर्नुभएको जानकारी सदनलाई गराउनुभयो। साथै, उहाँले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन समेत दिनुभएको छ।
संसद सचिवालयका अनुसार उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत्र २७ गते शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। सोही प्रक्रियालाई अघि बढाउँदै सोमबार मतदानमार्फत नयाँ उपसभामुखको चयन गरिनेछ।