बुधबार, ३ असार, २०८३

विशेष अदालतद्वारा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

विशेष अदालतद्वारा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२०८३ असार ०३, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका प्रतिष्ठित व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि दुवै अभियुक्तलाई हिरासतमा राखेरै मुद्दाको बाँकी कारबाही अघि बढाउन यस्तो आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा प्रहरीले भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते नियन्त्रणमा लिएको थियो । अदालतले प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कारागारमा रहँदा आवश्यकताबमोजिम उचित स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धित कारागार कार्यालयलाई निर्देशनसमेत दिएको छ।

यसका साथै, अनुसन्धानका क्रममा आरोपपत्रसाथ बरामद गरी पेस गरिएको ०१-०३३ च १ नम्बरको सवारी साधनलाई प्रचलित कानुनअनुसार व्यवस्थापन गर्नका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउनसमेत इजलासले आदेश दिएको छ ।

व्यवसायीद्वयमाथि बैंकिङ कसुर, कर्जा अपचलन तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन भइरहेको छ ।

advertisement_1676551646.gif