राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ भाद्र, २०८२
२०८२ भदौ १८, काठमाडौँ । रूपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अर्जुन थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले मंगलबार बसेको संसदीय समितिको बैठकमार्फत थापाको उम्मेदवारी टुंगो लगाएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
राप्रपा सांसद दीपक बोहोराको निधनपछि रिक्त बनेको यस क्षेत्रमा उपनिर्वाचन हुँदैछ। यसअघि नै केही दलहरूले उम्मेदवार तोकेका छन् भने केही दल अझै छनोट प्रक्रियामा छन्। यसपटक राप्रपाले उम्मेदवार छनोटमा ‘नवीन अभ्यास’ अपनाउँदै आन्तरिक प्रारम्भिक निर्वाचनको बाटो रोजेको श्रेष्ठले बताए। उनका अनुसार, जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षीमध्ये प्रारम्भिक मतदानमार्फत अर्जुन थापा चयन भएका हुन्।
आन्तरिक निर्वाचनका मतदातामा क्षेत्रीय, प्रदेश, जिल्ला, नगररगाउँपालिका, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय तहका प्रतिनिधि, भातृ संगठनका पदाधिकारी र सक्रिय सदस्यहरू सहभागी गराइएको थियो। राप्रपाले यसलाई आगामी निर्वाचनहरूमा पनि संस्थागत अभ्यासका रूपमा निरन्तरता दिने जनाएको छ।