सोमबार, ४ कार्तिक, २०८२

आज गाईजात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ श्रावण, २०८२

आज गाईजात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२०८२ साउन २५, काठमाडौं । आज परम्परागत सांस्कृतिक पर्व 'गाईजात्रा' विभिन्न कार्यक्रमसहित धुमधामसँग मनाइँदैछ । विशेषगरी काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बसोबास रहेका अन्य सहरहरूमा यो पर्वको रौनक छाएको छ । प्रत्येक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म मनाइने यो पर्व दिवंगत आफन्तको सम्झना र सामाजिक विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने अवसरका रूपमा परिचित छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा आजका दिन गाई वा बालबालिकालाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गराउने चलन छ । नगर परिक्रमामा सहभागी भएकाहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै नगद र अन्न दान गर्ने गर्छन् । यसो गर्नाले दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा बास पाउँछन् भन्ने गहिरो धार्मिक विश्वास रहेको पाइन्छ ।

ऐतिहासिक पृष्ठभूमि र व्यङ्ग्यको परम्परा

यो पर्वको सुरुवात सत्रौँ शताब्दीमा मल्लकालीन राजा प्रताप मल्लले गरेका थिए । पुत्रशोकले विह्वल बनेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले जनतालाई पनि यस्तै शोक परेको छ भनी देखाउन आ-आफ्ना दिवङ्गत आफन्तको नाममा जात्रा निकाल्न लगाएको इतिहास छ । तर, यसले पनि रानीको मन शान्त नभएपछि उनले विभिन्न हास्यव्यङ्ग्य र प्रहसनका कार्यक्रमहरू आयोजना गर्न आदेश दिए, जसबाट गाईजात्रामा व्यङ्ग्यको परम्परा बसेको मानिन्छ । त्यही परम्पराअनुसार जात्रा हनुमानढोका दरबार अगाडिबाट परिक्रमा गर्ने चलन अझै कायम छ ।

गाईजात्रा केवल दिवङ्गतहरूको सम्झनामा मात्र सीमित छैन, यो सामाजिक र राजनीतिक विकृतिविरुद्ध आवाज उठाउने एक सशक्त माध्यम पनि हो । यस दिन समाजमा विद्यमान भ्रष्टाचार, कुशासन र विसङ्गतिहरूलाई हास्यव्यङ्ग्यमार्फत सार्वजनिक रूपमा उजागर गरिन्छ । पञ्चायती व्यवस्थामा राजनीतिक व्यङ्ग्य गरेको भन्दै यो पर्वमाथि प्रतिबन्ध लगाइए पनि वि.सं. २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यसलाई पुनः महोत्सवका रूपमा मनाउन थालेको थियो ।

देशभर विविध कार्यक्रम

काठमाडौँ उपत्यकाका तीनै सहर, भक्तपुर र ललितपुरका साथै बनेपा, धुलिखेल, त्रिशूली, पोखरा, धरान, विराटनगर, वीरगञ्ज र हेटौँडा जस्ता नेवार समुदायको बसोबास रहेका प्रमुख सहरहरूमा पनि यो पर्व उल्लासका साथ मनाइन्छ । यस अवसरमा विभिन्न संघसंस्था तथा हास्य कलाकारहरूले विशेष कार्यक्रमहरू आयोजना गर्छन् भने पत्रपत्रिकाहरूले व्यङ्ग्यात्मक विशेषाङ्कहरू प्रकाशन गर्छन् । सांस्कृतिक संस्थानले 'गाईजात्रा महोत्सव २०८२' को आयोजना समेत गरेको छ, जसमा विभिन्न कलाकारहरूले प्रस्तुति दिनेछन् ।

यस पर्वले शोकलाई शक्तिमा बदल्दै जीवनको यथार्थलाई स्वीकार गर्न सिकाउँछ । आफन्त गुमाउँदाको पीडालाई सामूहिक रूपमा प्रकट गर्ने र व्यङ्ग्यमार्फत समाजलाई सचेत गराउने यो पर्व नेपाली संस्कृतिको एक अनुपम उदाहरण हो।यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ

advertisement_1676551537.gif