मंगलवार, १७ असार, २०८२

आज साउने सक्रान्ती लुतो फालेर मनाउदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ श्रावण, २०८०

आज साउने सक्रान्ती लुतो फालेर मनाउदै

साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति पर्व सोमबार मनाईैँदै छ । आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।विशेष गरी असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरीर सफा राखी लुतो फाल्ने गर्दछन्, यसैले यो संक्रान्तिलाई लुतो फाल्ने दिनको रुपमा पनि लिइन्छ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

प्राचीन प्रचलन अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।पछिल्लो समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ ।यस्तै महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् ।

देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन बसेको विश्वास छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।

वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर(घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ।

लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म रको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif