राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १८ कार्तिक, २०८१
काठमाडौँ, कार्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेललाई बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाइदिएका हुन् । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।
उत्तम साइतपछि पनि दिनभर टीका लगाउने कार्यक्रम चलेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।