राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ माघ, २०७९
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पुगेको छ ।ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध ३-१ को जितसहित भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि हुदा दबाबमा परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्यो ।
खेलको २१औं मिनेटमा भारतका अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।तर पछि ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेललाइ लयमा फर्काइन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३-१ को जित दिलाइन् ।पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।
नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेको हो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ।