राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ जेष्ठ, २०८२
२७ जेठ २०८२, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा लाओसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।
लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे। नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता र्लिएको थियो । लाओसका लागि दामोथले गोल गरे। त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो। लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिन सफल भए ।
खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो। नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने। त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरेका थिए ।
त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता गर्यो। यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो ।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन्। नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।