राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १८ चैत्र, २०८१
१९ चैत्र २०८१, काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अंक बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक/एक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४-१ को फराकिलो जित पक्का गरे। बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।