राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ असार, २०८२
६ असार २०८२, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।
दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।