राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ १७ काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । सो क्षेत्रमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन नपाइने र दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र यातायात खुलाइने छ ।
त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उता नुवाकोट र काठमाडौँ जोड्ने टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा समेत राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ ।