सोमबार, ४ श्रावण, २०८३

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

२०८३ साउन ०३, काठमाडौँ । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पार गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो । नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ । “हाल नदीको बहाव बढिरहेको छ। गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ । नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ”, उनले भने ।

विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढी, पहिरोसम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ।

advertisement_1680627706.gif