बुधबार, ७ आश्विन, २०८३

प्रतिनिधिसभाबाट समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रतिनिधिसभाबाट समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन

२०८३ असोज ०६ काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धी अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन भएको छ । 

सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्नेगरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन । छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताइन ।

विगतमा समेत नेपाल विभिन्न अन्तराष्ट्रिय सन्धी/सम्झौताहरूको पक्ष राष्ट्र भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा लाभ लिन नसकेको भन्दै सांसदहरूले अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताइन । 

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल भएको छ । 

यसअघि बैठकको सुरुमा सांसदहरुले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

सांसदहरुले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानविन समिति गठन गर्न माग गरे ।

सांसदहरुले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड दिए ।

यस्ता घटनाले राज्यप्रति नागरिकका निराशा, लाखौँ बेरोजगार युवाहरूका पिडा व्यक्त गरेको भन्दै सांसदहरुले नागरिकका संवेदना र गुनासाप्रति  सरकार गम्भीर बन्नुपर्ने बताए ।

बैठकमा सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाको अध्ययन गरी आवश्यक अनुसारको तालिम र परामर्शको व्यवस्था गर्न माग गरे ।

यस्तै सांसदहरुले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न, विभिन्न जिल्लामा फैलिएका स्क्रपटाईफस, डेंगी लगायतका सङ्क्रामक रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रतिनिधि सभाको अर्को बैठक भोली असोज ७ गते बुधबार बिहान ११ बजे बस्ने छ ।  

advertisement_1676551694.gif