राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ साउन २३, काठमाडौँ ।नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती तालिका परिवर्तन भएको छ। यसअघि साउन २६ गते राति ९:४५ बजे काठमाडौँ आइपुग्ने तय भएकोमा अब उनी साउन २८ गते दिउँसो १२:२५ बजे थाई एयरलाइन्सको उडानबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएका छन्। गत फागुन १३ गते प्रतिनिधिसभा निर्वाचनमा समेत मतदान नगरी उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका देउवा करिब पाँच महिनाको लामो स्वास्थ्य उपचारपछि घर फर्कन लागेका हुन्।
रातिको समयमा नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलमा स्वागतका लागि भेला गराउन सहज नहुने भएकाले उनको उडान तालिका संशोधन गरिएको हो। पूर्वमहामन्त्री प्रकाशशरण महत र पूर्वमुख्यसचिव कृष्ण पौडेलका अनुसार पार्टी कार्यकर्ताहरूको व्यापक उपस्थितिमा स्वागत गर्ने तयारी रहेकाले दिउँसोको समय मिलाएर टिकट सारिएको हो। काङ्ग्रेस नेता-कार्यकर्ताहरू देउवालाई स्वागत गर्न साउन २८ गते मध्याह्न १२ बजेअघि नै विमानस्थल पुग्ने तयारीमा रहेका छन्।