बिहीबार, ६ कार्तिक, २०८३

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

२०८३ कार्तिक ०५ काठमाडौँ । सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन् ।

६ टोलीको स्थान पक्का

प्रतियोगितामा सहभागी हुने ८ मध्ये ६ टोलीको टुङ्गो लागिसकेको छ:

  • लिग–२ बाट: आयोजक नेपालसहित क्यानडा र यूएई
  • च्यालेन्ज लिग ‘बी’ बाट: इटाली र युगान्डा
  • च्यालेन्ज लिग ‘ए’ बाट: जर्सी

बाँकी दुई स्थानका लागि च्यालेन्ज लिग ‘ए’ बाट कुवेतको सम्भावना बलियो रहे पनि आधिकारिक पुष्टि हुन बाँकी छ । त्यस्तै लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

अघिल्लो चरणको बाटो र शृङ्खला तालिकामा हेरफेर

यस प्लेअफ प्रतियोगिताका शीर्ष चार टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको मुख्य विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

विश्वकप छनोट प्लेअफ नेपालमै हुने भएपछि यसअघि डिसेम्बर ९, ११ र १३ का लागि तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको तालिका परिवर्तन हुने भएको छ ।

क्यान र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बीचको आपसी समझदारीमा सो शृङ्खलाको नयाँ मिति पछि सार्वजनिक गरिने क्यानले जनाएको छ ।

advertisement_1792150120.png