शुक्रबार, १८ बैशाख, २०८३

बुद्ध जयन्तीको अवसरमा बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो (तस्बिरसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बुद्ध जयन्तीको अवसरमा बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो (तस्बिरसहित)

२०८३ बैशाख १८, काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ ।

काठमाडौँको बौद्ध स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ । अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ ।

आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उनले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्म चक्र प्रवर्तन गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको इतिहासमा उल्लेख छ ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् ।

advertisement_1676998982.gif