शुक्रबार, २३ आश्विन, २०८३

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि हुने

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि हुने

२०८३ असोज २२ काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भोलि (शुक्रबार) मात्र मतदान हुने भएको छ । मतपत्र छपाइमा ढिलाइ भएका कारण यसअघि आजका लागि तय गरिएको मतदान कार्यतालिका एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यतालिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। पार्टी सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन् । महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने बताइएको छ ।

मतदान कार्यलाई सहज र व्यवस्थित बनाउन भूगोल तथा समूहअनुसार तीनवटा मुख्य स्थानमा मतदान केन्द्रहरू कायम गरिएको छ । जसअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’), कोशी प्रदेश तथा तराई-मधेस समूहका प्रतिनिधिले खुलामञ्च (मतदान केन्द्र ‘ख’) र अन्य प्रदेश तथा समूहका प्रतिनिधिले नेपाल प्रज्ञा प्रतिष्ठान परिसरभित्र मतदान गर्नेछन् । प्रज्ञा प्रतिष्ठानको हिमाल हलमा गण्डकी प्रदेश, तराई-मधेस हलमा मधेश प्रदेश र पहाड हलमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था मिलाइएको छ ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गर्नुअघि प्रत्येक महाधिवेशन प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली अनिवार्य रूपमा रुजु गरिने जनाएको छ । मतदान केन्द्रभित्र मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने र लगत्तै अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

विधान संशोधनमार्फत २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गर्न लागिएकाले यस निर्वाचनलाई कांग्रेसको आगामी राजनीतिक दिशा र सङ्गठनात्मक नेतृत्व तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । सभापतिसहितका प्रमुख पदमा तीव्र प्रतिस्पर्धा रहेकाले भोलि हुने मतदान र त्यसको परिणामप्रति राजनीतिक वृत्तमा चासो बढेको छ ।

advertisement_1680627680.gif