बिहीबार, ७ जेष्ठ, २०८३

प्रतिनिधिसभा निर्वाचन खर्च सार्वजनिक: झन्डै ५ अर्बमा चुनाव सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ जेष्ठ, २०८३

प्रतिनिधिसभा निर्वाचन खर्च सार्वजनिक: झन्डै ५ अर्बमा चुनाव सम्पन्न

२०८३ जेष्ठ ०५, काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत खर्च विवरण सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावमा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको हो ।
सरकारले उपलब्ध गराएको कुल बजेटको तुलनामा आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गरेको तथ्याङ्कले देखाउँछ।प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले निर्वाचन आयोगलाई कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्रदान गरेको थियो । सरकारले उपलब्ध गराएको कुल बजेटमध्येबाट १ अर्ब ७५ करोड १४ लाखभन्दा बढी रकम बचत गर्दै आयोगले झन्डै ५ अर्ब रुपैयाँमा निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न गरेको हो।

आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो। उक्त कुल मतदाता संख्यालाई आधार मानेर हिसाब गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा प्रतिमतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च हुन आएको छ ।

आयोगले निर्वाचन सामग्री खरिद, मतपत्र छपाइ, ढुवानी, कर्मचारी परिचालन तथा मतदान केन्द्र व्यवस्थापन लगायतका शीर्षकहरूमा पारदर्शी ढङ्गले खर्च गरिएको र बाँकी रहेको रकम सरकारी कोषमै रहने जानकारी दिएको छ।

advertisement_1676553908.gif