बुधबार, ६ जेष्ठ, २०८३

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ ग्रहण: बने मुलुकको ३३ औँ प्रधानन्यायाधीश

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ ग्रहण: बने मुलुकको ३३ औँ प्रधानन्यायाधीश

२०८३ जेष्ठ ०५, काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पदको शपथ गराएका हुन्।संसदीय सुनुवाइ समितिबाट नाम सर्वसम्मत अनुमोदन भएलगत्तै शर्मा प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्। यससँगै उनी मुलुकको सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाधीश बनेका छन्।

यसअघि गत वैशाख २४ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। परिषद्ले सर्वोच्च अदालतको रोलक्रममा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई न्यायलयको सर्वोच्च कमान्ड सम्हाल्ने गरी सिफारिस गरेको थियो।

वि.सं. २०२७ साल असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका डा. शर्मा कानुन व्यवसाय र न्यायिक क्षेत्र दुवैमा लामो अनुभव सँगालेका व्यक्तित्व हुन्। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (बीएल) गरेका छन्।

यस्तै, भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) र त्रिभुवन विश्वविद्यालयबाट 'श्रम कानुन' विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।कानुन व्यवसाय: वि.सं. २०५२ सालदेखि उनी निरन्तर कानुन व्यवसायमा सक्रिय रहँदै आएका थिए।

यस क्रममा उनले देशका विभिन्न प्रतिष्ठित कम्पनी तथा संस्थाहरूमा कानुनी सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरेका थिए। प्राज्ञिक र व्यावसायिक क्षेत्रसँगै उनको न्यायिक यात्रा पनि बलियो छ।उनले वि.सं. २०७० जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा न्यायाधीशका रूपमा कार्यसम्पादन गरिसकेका छन्।

advertisement_1676553851.gif