बुधबार, ६ जेष्ठ, २०८३

प्रतिनिधिसभा निर्वाचन खर्च सार्वजनिक: झन्डै ५ अर्बमा चुनाव सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

प्रतिनिधिसभा निर्वाचन खर्च सार्वजनिक: झन्डै ५ अर्बमा चुनाव सम्पन्न

२०८३ जेष्ठ ०५, काठमाडौं।निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावमा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको हो।
सरकारले उपलब्ध गराएको कुल बजेटको तुलनामा आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गरेको तथ्याङ्कले देखाउँछ।प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले निर्वाचन आयोगलाई कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्रदान गरेको थियो। सरकारले उपलब्ध गराएको कुल बजेटमध्येबाट १ अर्ब ७५ करोड १४ लाखभन्दा बढी रकम बचत गर्दै आयोगले झन्डै ५ अर्ब रुपैयाँमा निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न गरेको हो।

आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो। उक्त कुल मतदाता संख्यालाई आधार मानेर हिसाब गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा प्रतिमतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च हुन आएको छ।

आयोगले निर्वाचन सामग्री खरिद, मतपत्र छपाइ, ढुवानी, कर्मचारी परिचालन तथा मतदान केन्द्र व्यवस्थापन लगायतका शीर्षकहरूमा पारदर्शी ढङ्गले खर्च गरिएको र बाँकी रहेको रकम सरकारी कोषमै रहने जानकारी दिएको छ।

advertisement_1676551694.gif