राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ साउन १४, काठमाडौँ।मधेशवादी दलका नेताहरूले सुनसरीको देवानगञ्जमा हालै भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई अविलम्ब न्याय दिलाउन सरकारसँग जोडदार माग गरेका छन्।
नेताहरूले एक सामूहिक वक्तव्य जारी गर्दै झडप तथा प्रहरी कारबाहीका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न आग्रह गरेका छन्। साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायहरूले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर कार्य सम्पादन गर्नुपर्नेमा उनीहरूको जोड छ।
घटना नियन्त्रणका नाममा भएको प्रहरी हस्तक्षेप र Excessive बल प्रयोगमाथि गम्भीर प्रश्न उठेकाले यसको सम्पूर्ण तथ्य सत्य रूपमा बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ।
नेताहरूले वर्तमान परिस्थितिलाई साम्य पार्न प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनको प्रत्याभूति गराउनुपर्ने निष्कर्ष निकालेका छन्।
साथै, प्रहरीको गोली लागी ज्यान गुमाएका व्यक्तिलाई तत्काल 'सहिद' घोषणा गरी उनका परिवारलाई उचित क्षतिपूर्ति, रोजगारी र सामाजिक सुरक्षा उपलब्ध गराउन माग गरिएको छ। घटनामा कुनै बाह्य तत्व, रोहिङ्गिया वा अन्य संगठित समूहको घुसपैठ वा संलग्नता भए–नभएको विषयमा अफवाहका आधारमा नभई तथ्यका आधारमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने उनीहरूको भनाइ छ।