राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३कार्तिक ०५ काठमाडौँ । नेकपा (एमाले) को सक्रिय राजनीतिमा औपचारिक पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छिन् । पार्टीको वरिष्ठ सम्मानित नेताका रूपमा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
चीनको हप्बे प्रदेशस्थित स्योङआन नयाँ क्षेत्रमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
भ्रमणका क्रममा फोरममा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधारका साथै प्रविधिका नयाँ चुनौतीहरूका विषयमा गहन छलफल हुनेछ ।
यसका साथै प्रतिनिधिमण्डलले चीनको आधुनिक नमुना सहरका रूपमा विकसित भइरहेको स्योङआनको अवलोकन गर्नुका साथै बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
एमालेको माथिल्लो तहमा पुनरागमन गरेलगत्तै हुन लागेको यो भ्रमणलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।