बुधबार, २४ असार, २०८३

‘हेलो सरकार’ को मन्त्रीद्वयद्वारा निरीक्षण: गुनासो फछ्र्योटलाई उच्च प्राथमिकता दिन निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

‘हेलो सरकार’ को मन्त्रीद्वयद्वारा निरीक्षण: गुनासो फछ्र्योटलाई उच्च प्राथमिकता दिन निर्देशन

२०८३ असार २४, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसहित मन्त्रीद्वय श्रेष्ठ र पौडेलले ‘हेलो सरकार’ शाखा पुगेर गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र उजुरी फछ्र्योटको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका हुन् ।

अवलोकनका क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासाबारे विशेष चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयहरू प्राप्त गुनासा समयमै सम्बोधन गर्न पूर्ण रूपमा तत्पर रहेको बताए । उनीहरूले नागरिकका प्रत्येक गुनासाप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ जिम्मेवारीपूर्वक काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

गुनासोको सङ्ख्या बढ्दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढेको संकेत गर्ने उल्लेख गर्दै मन्त्रीद्वयले प्राप्त गुनासा समयमै फछ्र्योट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । मन्त्रालयसँग सम्बन्धित गुनासाहरू छिटो सम्बोधन गर्नका लागि आगामी दिनमा समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने उहाँहरूको भनाइ थियो ।

पछिल्लो समय सरकारी निकाय र नागरिकबीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा विकसित हुँदै गएको ‘हेलो सरकार’ लाई सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार अहिले चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ ।

बहुच्यानल प्रणाली, आधुनिक प्रविधि तथा सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप चुस्त बनाउने काम अघि बढिरहेको छ । आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणालीमार्फत गुनासो दर्ता गर्ने, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा प्रगति अवस्थाबारे सेवाग्राहीलाई नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारीसमेत भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यही असार २४ गतेसम्म हेलो सरकार प्रणालीमा कुल एक लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी प्राप्त भएका छन्, जसमध्ये करिब ७० प्रतिशत गुनासा फछ्र्योट भइसकेका छन् ।

वर्तमान सरकार गठन भएको गत चैत १३ गतेयता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरीमा ८३८ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिदेखि असार २४ गतेसम्म गुनासो र उजुरी फछ्र्योट हुने दरमा समेत ९७५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ ।

advertisement_1676553908.gif