राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ साउन १४, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा भएका दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएको जानकारी गराएका छन् ।
घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र दोषी जोकोही भए पनि कडा कानुनी दायरामा ल्याइने बताए । साथै, शान्ति सुरक्षा सुदृढ बनाउन सुरक्षा परिषद्को निर्णयबमोजिम गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगी प्रत्यक्ष अनुगमन र पीडितहरूसँग संवाद गरिरहेको उनले बताए।
सामाजिक सञ्जालमा असत्य र अपुष्ट सूचना फैलाएर भाइचारा खल्बल्याउन खोज्ने अराजक तत्त्वहरूविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिँदै प्रधानमन्त्रीले केवल आधिकारिक तथ्यमा मात्र विश्वास गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।
नेपालको संविधानले प्रदान गरेको धार्मिक तथा सांस्कृतिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कुनै पनि धर्म वा संस्कृतिले हिंसा र घृणा नसिकाउने बताए ।
सम्बोधनको अन्त्यमा मैथिली भाषामा समेत अपिल गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय एकता र सामाजिक सद्भाव नै देशको सबैभन्दा ठूलो शक्ति भएकाले प्रतिशोधको आगो नफैलाई नागरिक समाज, धार्मिक अगुवा र राजनीतिक दलहरूलाई संयम भई जिम्मेवार बन्न आह्वान गरेका छन् ।