राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज २६ रियाद,(एजेन्सी) । यमनका इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी पुनः शृङ्खलाबद्ध क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेका छन् । यस पछिल्लो भीषण आक्रमणमा परी कम्तीमा १ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन् ।
सोही विमानस्थलमा अघिल्लो दिन मात्रै भएको ज्यानलेवा हमलामा १३ जनाको ज्यान गएको र ३०० भन्दा बढी घाइते भएको घटनाको २४ घण्टा बित्न नपाउँदै हुथी समूहले अर्को प्रहार गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार विमानस्थलको टर्मिनल क्षेत्रलाई नै निशाना बनाएर गराइएको उक्त विष्फोटका कारण विमानस्थल परिसरमा त्रास फैलिएको थियो । साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणका कारण भौतिक क्षति हुनुका साथै धेरै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू रद्द र डाइभर्ट गरिएका छन् । घटना लगत्तै सुरक्षा निकायहरूले विमानस्थल क्षेत्र नियन्त्रणमा लिएर उद्धार तथा मर्मतको कार्य अघि बढाएका छन् ।
आक्रमणपछि उत्पन्न गम्भीर सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै साउदी सरकारले रियाद लगायत प्रभावित क्षेत्रका विद्यालयहरूमा भौतिक उपस्थिति रोकी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै साउदी अधिकारीहरूले थप सुरक्षा सतर्कता अपनाएका छन् ।
यसैबीच, सर्वसाधारण नागरिक र गैर-सैन्य पूर्वाधारलाई लक्षित गरी गरिएको यस आक्रमणको अन्तर्राष्ट्रिय स्तरमा तीव्र भर्त्सना भइरहेको छ।संयुक्त राष्ट्रसङ्घ,टर्की, पाकिस्तान र इजिप्ट लगायतका देशहरूले औपचारिक विज्ञप्ति जारी गर्दै आक्रमणलाई आतङ्ककारी कदमको संज्ञा दिएका छन् र क्षेत्रमा थप तनाव नबढाउन चेतावनी दिएका छन्। साउदी नेतृत्वको गठबन्धन सेनाले भने यस आक्रमणको कडा जवाफ दिने स्पष्ट पारेको छ ।