राष्ट्रिय सन्देश संबाददाता, ४८ मिनेट पहिले
२०८३ असोज ०३ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानले नेपालका सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको जानकारी दिए।
उनले नेपालको संविधान लोकतान्त्रिक पद्धतिको विकसित दस्ताबेज भएको उल्लेख गर्दै विभिन्न मत र विचारबीच सहमति खोज्ने राजनीतिक आधारका रूपमा संविधानलाई लिनुपर्ने बताए।
मुख्यमन्त्री भट्टले संविधानको मर्म र भावनाअनुसार सबै प्रकारका राजनीतिक सहमति कायम गर्दै मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताए।
उनले संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयन गर्दै लोकतान्त्रिक मूल्य, मान्यता तथा समावेशी व्यवस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।