राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असोज ०२ काठमाडौँ I नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैँ तिहारपछि सरकारविरूद्व आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारको दमन बढेको भन्दै त्यसका विरूद्व आन्दोलनमा जाने तयारी भइरहेको बताएका हुन् ।
उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ । सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ । त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’
उनले थपे, ‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ । चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ । चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ ।’
प्रचण्डले विगतमा आफूहरूले गरेका कामको सही मूल्याङ्कन हुनुपर्ने बताउँदै कमजोरीको पनि मूल्याङ्कन गर्नुपर्ने बताए । ‘हाम्रा कमजोरीको पनि सही मूल्याङ्कन हुनुपर्यो र राम्रा कामहरू पनि सही मूल्याङ्कन भएर जनतालाई भन्न सक्नुपर्यो,’ उनले भने ।
उनले कृषि क्षेत्रलाई नेपालको आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गर्दै कृषिको आधुनिकीकरण, व्यापारीकरण र विविधीकरणबाट मात्रै औद्योगिकीकरण तथा समृद्धिको जग बस्न सक्ने बताए ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्प्रेरित गर्ने विषयलाई प्राथमिकता दिएको दाबी गरे । उनले आफ्नो भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने निर्णय पनि किसानको जीवनमा परिवर्तन ल्याउने उद्देश्यसँग जोडिएको बताए ।
प्रचण्डले आफूहरूको नेतृत्वमा भएका राम्रा काम जनतामाझ स्पष्ट रूपमा लैजानुपर्नेमा जोड दिए ।