शनिबार, १९ बैशाख, २०८३

नेपालद्वारा यूएई ६ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

नेपालद्वारा यूएई ६ रनले पराजित

२०८३ बैशाख १८, काठमाडौं ।आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा बलर नन्दन यादवको उत्कृष्ट प्रदर्शनले नेपाललाई जित दिलाएको हो।
जितका लागि अन्तिम ओभरमा यूएईलाई १४ रन आवश्यक थियो। नन्दन यादवले फालेको पहिलो बलमै खुजैमा तनवीरले चौका प्रहार गरेपछि खेल यूएईको पक्षमा ढल्किएको देखिएको थियो। तर, दोस्रो बलमा यादवले तनवीरलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए। तेस्रो बलमा जुनैद सिद्धिकी रनआउट भएपछि नेपाल थप बलियो स्थितिमा पुग्यो।

चौथो बलमा अक्षदीप नाथले पुनः चौका प्रहार गरेपछि यूएईलाई अन्तिम दुई बलमा ७ रन आवश्यक भयो। तर, दबाबका बीच नन्दनले पाँचौ र छैटौं बलमा कुनै रन दिएनन् र नेपालको जित सुनिश्चित गरे।वर्षाका कारण खेल अवरुद्ध भएपछि यूएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पाएको थियो। तर, यूएईले ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रन मात्र बनाउन सक्यो। यूएईका लागि मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, अक्षदीप नाथले अविजित ३६ र आर्यान्स शर्माले ३३ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्।नेपालको बलिङतर्फ सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २-२ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको शतकीय पारी खेले। उनी दुर्भाग्यवश रनआउट हुन पुगेका थिए।

त्यसैगरी, विनोद भण्डारीले ५६ रनको अर्धशतकीय योगदान दिए भने गुलशन झाले ४४ र कप्तान रोहित पौडेलले ३९ रन जोडे। यूएईका लागि बलिङतर्फ अजय कुमार र जुनैद सिद्धिकीले २-२ विकेट लिएका थिए।यस जितसँगै नेपालले लिग-२ मा आफ्नो बलियो उपस्थिति कायमै राखेको छ। यसअघिको खेलमा पनि नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो।

advertisement_1676553851.gif