आईतवार, २५ आश्विन, २०८३

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, ५१ मिनेट पहिले

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा

२०८३ असोज २५ विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिएको हो ।

सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ । संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा भोग्नुपरेका साझा चुनौतीबारे गहन छलफल हुनेछ । साथै, संविधानप्रदत्त अधिकारको प्रभावकारी प्रयोग, तीनवटै तह (संघ, प्रदेश र स्थानीय) बीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार र वित्तीय संघीयताको सबलीकरणका विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

यसैगरी अन्तरप्रदेश पूर्वाधार विकास, व्यापार सहजीकरण, प्राकृतिक स्रोतको उपयोग र विपद् व्यवस्थापनमा सहकार्य गर्ने लक्ष्य राखिएको छ । साझा एजेन्डा र प्रतिबद्धतामार्फत प्रदेशहरूबीचको सहकार्यलाई परिणाममुखी बनाई संघीयता सुदृढीकरण र आर्थिक समृद्धि हासिल गर्ने कोशी प्रदेश सरकारले जनाएको छ ।

advertisement_1680627706.gif