सोमबार, १६ चैत्र, २०८२

भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन

२०८२ चैैैत्र १३, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उनले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलनको अगुवाइ गरेका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए । सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गरेका मन्त्री गुरुङ आफैं निजी कार चलाएर मन्त्रालयबाट बाहिरिएका थिए ।

“नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु”, मन्त्री गुरुङले भने ।

भ्रष्टाचार निर्मूल पार्न ‘वान डोर सर्भिस सिस्टम’ (एकद्वार सेवा प्रणाली) अनिवार्य रहेको उल्लेख गर्दै उनले सेवाग्राही र कर्मचारीको प्रत्यक्ष भेटघाट कम हुनेगरी प्रविधिको विकास गर्न निर्देशन दिएका छन्। उनकाअनुसार नागरिकले एक ठाउँमा निवेदन दिएपछि अर्को ठाउँबाट सिधै सेवा पाउने वातावरण बनेमा मात्र ‘गुड गभर्नेन्स’ वा सुशासनको अनुभुति हुनेछ ।

गृहमन्त्री सुधन गुरुङले देश परिवर्तनका लागि रगत बगाउने शहीद परिवार र घाइतेहरूलाई राज्यले दिने सेवामा कुनैपनि ढिलासुस्ती हुन नहुने बताए । उनले शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहने गरी एउटा छुट्टै विभाग वा केन्द्र बनाउने प्रस्‍ताव गरे ।

गृहमन्त्री सुधन गुरुङले सञ्चारमाध्यमहरूलाई देश विकासको साझेदार बन्न र समाचार सम्प्रेषणमा उच्च सतर्कता अपनाउन आग्रह गरे ।

advertisement_1676553851.gif